कालो पत्रकारितामा भारत अघिअघि नेपाल पछिपछि
के संदिग्ध धन्दामा टिकेको मिडियाले व्यवसायिक पत्रकारिता गर्न सक्छ?
अर्नब गोस्वामी (स्रोतः युट्युब स्क्रिनशट)
हामीकहाँ जघन्य घोटाला गर्ने दुर्जनहरुसित पैसा लिएर उनीहरुको सेवा गर्ने एक मात्रै उद्देश्यसहित कथित मिडिया खोलेर काम गर्नेहरु पनि छन् । पार्टी विशेषको मुखपत्रलाई वस्तुगत पत्रकारितका भेष पहिर्याएर पार्टीको सेवा गर्ने र पार्टी सरकारमा पुग्नासाथ लाभको पदमा पुग्न खुट्टा उचाल्नेहरु पनि छन् । उनीहरुबाट पत्रकारितको मर्यादा थामिने अपेक्षा गर्नु नै मुर्खता हो । त्यस्ता प्रायोजित वा स्तुति मिडियाले जनमानसमा कहिल्यै गहिरो ठाउँ बनाउन नसक्ने भएकाले तिनलाई त्यति गम्भीरतासाथ लिनु र तिनबारे धेरै चिन्तित हुनु पनि आवश्यक नै छैन ।
तर जब पेशागत निष्ठा वा व्यवसायिकताका लागि मानिसले पत्याएको अनुहार आबद्ध रहेको मिडियाले पत्रकारिताको सट्टा अरु नै केही गर्छ, त्यो समाजका लागि घातक हुन्छ ।
यो संवेदनशील विषयमा प्रवेश गर्नु अगाडि शुरुमा एउटा प्रष्टीकरण । म जीविकाको लागि कुनै पनि मिडिया हाउसमा भर पर्दिनँ । हालसम्म विभिन्न समयमा गरी सेतोपाटी, कान्तिपुर, नागरिक, अन्नपुर्ण पोस्ट, रिपब्लिका, नेपाल, हिमाल, पहिलोपोस्ट आदि प्रिन्ट र अनलाइन मिडियामा मेरा लेखहरु प्रकाशित छन् (काठमाण्डु पोस्ट, नेपाली टाइम्स र हिमाल साउथएसियनमा चाहेर पनि अझै प्रकाशित गर्न नसकेको अवस्था) भने कान्तिपुर, इमेज, एभिन्युज, एबीसी लगायत टेलिभिजन च्यानलहरु र सगरमाथा, नागरिक, कान्तिपुर, कालिका लगायत रेडियोहरुका विभिन्न कार्यक्रममा म बोलेको छु । त्यसैले कुनै एउटा मिडियाको पक्षपोषण गर्नका लागि अर्कोको विरोध गर्न मलाई आवश्यक छैन ।
मैले २००८ मा साउथ एसिया एण्ड बियोन्ड ब्लग शुरु गरे यता त्यसको मिडिया वाच पेजअन्तर्गत १६ वटा पोस्टमा विभिन्न मिडियाहरुमाथि टिप्पणी गरेको छु । तीमध्ये २०१० मार्च १० मा एसिया टाइम्समा ‘मिडिया मर्डर्स रक फ्रेजाइल नेपाल’ शीर्षकमा प्रकाशित लेख र २०१३ मार्च १७ मा फरेन पोलिजी जर्नलमा प्रकाशित ‘दि रट विहाइन्ड द फ्याकेड अफ फ्री मिडिया इन इण्डिया’ शीर्षक लेख अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित मेरा मिडिया टिप्पणी हुन् । त्यसैले आफ्नो मिडिया विश्लेषणमा धेरथोर वस्तुगतता भएको मेरो दाबी छ ।
नेपालका खास मिडिया हाउसहरुप्रति मेरा पुर्वाग्रह हुन सक्छन् तर यो टिप्पणीका लागि तिनबाट परै बस्ने प्रयास मैले गर्नेछु ।
मिडियाले आम नागरिकका तर्फबाट राज्यका प्रमुख तीनै अंगलाई जवाफदेही बनाउन ‘वाचडग’को काम गर्ने भएकाले यसलाई लोकतान्त्रिक राज्यको चौथो अंग पनि भनिन्छ । त्यस्तो कुनै मिडिया भेट्न गाह्रै पर्ला जसले राज्यको चौथो अंगका रुपमा आफूले भुमिका खेल्ने दाबी गर्दैन ।
तर दाबी एउटा कुरा हो र यथार्थ अर्कै । अहिले संसारभर एकतिर ज्यानै खतरामा पारेर आवाज खोसिएकाहरुको बोली बोलिदिने पत्रकारहरु, खल्तीमा राजीनामा पत्र बोकेर निर्धक्क शासकहरुलाई तर्साउने सम्पादकहरु र कम्पनी टाट पल्टने जोखिम उठाएर खोज पत्रकारितालाई प्रवर्द्धन गर्ने प्रकाशकहरु छन् भने अर्कोतिर शासकहरुका निकृष्ट कृत्यहरुमा समेत प्रतिपक्ष वा अन्य विरोधीहरुको दोष खोजेर शासकलाई रिझाउने तथा आफ्नो निकृष्ट स्वार्थपुर्ति अभियानलाई मिडियाको मुखुण्डो भिराइदिने कथित पत्रकार, सम्पादक र मिडिया हाउसहरु छन् ।
दाबी चाहिं दुवैले एउटै गर्छन्ः आम नागरिकको सेवा गरेको । तर यीमध्ये पछिल्लो चाहिंले गर्ने पत्रकारितालाई अझ राम्रो शब्दको अभावमा मैले विगतको कुनै एउटा टिप्पणीमा कालो पत्रकारिता भनेको छु ।
भारतमा केहीले खिसी गर्दै ‘बनाना रिपब्लिक’ भन्ने गरेको रिपब्लिक टीभी नामको च्यानल छ जसमा मुख्य लगानी त्यहाँको सत्ताधारी गठबन्धनका केराला उप–प्रमुख राजीव चन्द्रशेखरको छ । अर्नब गोस्वामी नामक दुर्जन पत्रकारले नेतृत्व गरेको त्यो च्यानलले मोदी सरकारको स्तुति गाउने र विपक्षीहरुको दोहोलो काढ्ने मात्रै गर्दैन, आफूभन्दा फरक मत राख्ने मिडिया र नागरिकहरुलाई राज्यले दमन गरेर अभिव्यक्ति स्वतन्त्रता निमोठ्नुपर्ने भन्ने मान्यतासमेत राख्छ ।
विख्यात इतिहासकार मुकुल केशवनका अनुसार भारतको भिजिलान्ते राष्ट्रियताको प्रमुख धरोहरहरु मध्ये गोस्वामीको रिपब्लिक र त्यसकै आकृतिमा कुँदिएका अरु मिडिया प्रमुख हुन् । सडकमा कानुन हातमा लिएर कसैको हत्या गर्ने ‘लिन्च मोब’जस्तै यी टेलिभिजनका भिजिलान्तेहरु पनि सत्यलाई आफूले चाहेको रुपमा बटार्न पोख्त छन् । शक्तिशालीहरुलाई जवाफदेही बनाउनमा तिनको किञ्चित रूचि छैन। केशवनका अनुसार भारत कदाचित फासीवादमा गयो भने त्यसको अग्रणी भुमिकामा यिनै भिजिलान्ते राष्ट्रवादीहरु हुनेछन् ।
अर्नब गोस्वामीको भिजिलान्ते पत्रकारिताको एउटा नमुना यता हेरौंः (इतिहासकार रामचन्द्र गुहालाई ‘नंग्याउने’ उद्देश्यसहित चलाइएको यो कार्यक्रमबारे बेखबर गुहालाई मैले इमेलमार्फत ध्यानकर्षण गराएको थिएँ )
A Nepali friend who is a connoisseur of Indian comedy shows told me that I recently was the star of one, albeit in absentia. It it linked below; I hope you enjoy it as much as I did:https://t.co/nZ3UREitfJ
— Ramachandra Guha (@Ram_Guha) December 4, 2017
भारतभन्दा नेपाल कुन अर्थमा उन्नत छ भनेर यसो विचार गर्दा जहिले पनि हामीकहाँ राजनीतिक र सामाजिक जीवनमा भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)जस्तो संकीर्ण र नश्लवादी संगठनको प्रभाव नगण्य भएको अवस्था शुरुमा आउँछ । त्यसपछि नेपालमा कम्तीमा रिपब्लिक टीभीजस्ता सपाट कालो पत्रकारिता गर्ने मिडिया त छैनन् वा लोकप्रिय छैनन् भनेर मैले चित्त बुझाउन लागेको धेरै भयो।
तर लोकमान सिंह कार्कीको नियुक्ति र बर्खास्तीदेखि लिएर गोपाल पराजुली प्रकरणसम्म आउँदा पछिल्लो बुँदामा मेरो त्यस्तो विश्वास धर्मराएको छ ।
भारतको मिडिया परिदृश्यमा रिपब्लिक र ऊजस्तै अन्य मिडिया हाउसहरुको उपस्थिति र प्रभाव जस्तो छ, हामीकहाँ दुरुस्त त्यस्तै समस्या देखिने भय र अपेक्षा दुवै स्वभाविक हैनन् ।
तर नेपालको पछिल्लो परिदृश्यले मलाई एउटा अलि फरक प्रश्न उठाउन बाध्य बनाइदिएको छः कुनै मिडिया हाउस, जसको आर्थिक स्रोतको मूल धमिलो छ, जसको राज्यका विभिन्न अंगहरुसँग गहिरो अवैध हिमचिम छ, उसमा खारिएका र पेशागत निष्ठा बोकेका पत्रकारले जागिर खाए भने के त्यहाँबाट राम्रो वा कम्तीमा ‘एथिकल’ पत्रकारिता उत्सर्जन हुन्छ?
समाजको भलो गर्ने पत्रकारको हुटहुटी र मिडिया व्यवसायलाई नाफामूलक राखिरहने प्रकाशक वा लगानीकर्ताको स्वार्थ जुध्ने समस्या पत्रकारिताको आदिकालदेखि कायम छ तर अवैध धन्दामा लिप्त हुनेहरुले त्यही धन्दालाई मलजल गर्न र त्यसलार्ई छोपछाप पार्ने मुखुण्डोको रुपमा कुनै मिडियालाई प्रयोग गरे भने के हुन्छ?
यी पंक्ति लेखिरहँदा मलाई हालै सिलसिलाबद्ध रुपमा एउटै विषयमा कार्यक्रम चलाएका एक जना ‘विचरा’ टेलिभिजन पत्रकारको अनुहार झल्झली आइरहेको छ जो आफूले बोलेका शब्दमा आफैं विश्वस्त देखिंदैनथे र विषयवस्तुको उठानमा उनको वाक ‘एक्रोबेटिक्स’ सुन्दा उनीभन्दा पनि उनका साहुले खटाएको कुनै अदृश्य पात्र उनको मुखबाट बोलिरहेका प्रतित हुन्थ्यो अनि ती पत्रकार र उनको पत्रकारितालाई ‘च्व च्व’ भन्न मन लाग्थ्यो । संवादलाई आफूले चाहेको दिशामा मोडेर सामुन्नेको नमुना पात्रबाट चाहेको शब्द निकाल्न उनी पट्यारै लाग्ने गरी उही प्रश्न दोहोर्याइरहन्थे ।
स्मरण रहोस्, म आफूले राख्नेभन्दा फरक विश्वास र मत राखेका कारण मैले कसैको त्यसरी मुल्यांकन गरेको छैन । लोकमान सिंह कार्की र गोपाल पराजुलीलाई सुपात्र भनेर गुणगान गाउँदैमा कोही गलत भइहाल्दैन । उनीहरुका विरुद्ध चलेको अभियानका कारण उनीहरुले नेतृत्व गरेका संस्थाको गरिमा कम भयो भन्ने चिन्तासाथ विरोधीहरुको रचनात्मक आलोचना गर्नेहरु त समाजमा भएनन् भने हामीले हाम्रो समाजको बौद्धिकता र आलोचनाशीलतामाथि नै प्रश्न उठाउनुपर्छ । खूला समाजमा सबै खाले आवाज उठ्नु र ठाउँ पाउनुपर्छ, तिनमाथि फराकिलो बहस हुनुपर्छ ।
कार्की र पराजुलीले पनि जीवनमा कुनै सुकर्म गरेका छन् वा समाजमा योगदान दिएका छन् भने त्यसको चर्चा हुनैपर्छ । तर उता गएर कुनै आर्थिक लाभ, पद, फैसला वा सुविधाका लागि उनीहरुसित दलाली गर्ने, वा विरोधी वा प्रतिस्पर्धीलाई सिध्याउन साँठगाँठ गर्ने, अनि यता आएर संविधानको कसम खाएर संस्थाको नाम लिएर सार्वजनिक बहसमा उत्रने, योचाहिं काम गलत हो ।
यस्तो काममा मिडिया हाउसका मालिक उत्रनु अक्ष्यम्य हो किनकि त्यो अवस्थामा पत्रकारिताको धर्म थाम्नु त्यस मिडियासम्बद्ध पत्रकारहरुका लागि असम्भव हुन्छ, चाहे उनीहरु जतिसुकै निष्ठावान होउन् ।
यहाँ बारम्बार निष्ठावान पत्रकारहरुको प्रसंग किन जोडिएको हो भने हामीकहाँ जघन्य घोटाला गर्ने दुर्जनहरुसित पैसा लिएर उनीहरुको खल्तीभित्रबाट सेवा गर्ने एक मात्रै उद्देश्यसहित कथित मिडिया खोलेर काम गर्नेहरु पनि छन् । पार्टी विशेषको मुखपत्रलाई वस्तुगत पत्रकारितका भेष पहिर्याएर पार्टीको सेवा गर्ने र पार्टी सरकारमा पुग्नासाथ लाभको पदमा पुग्न खुट्टा उचाल्नेहरु पनि छन् । उनीहरुबाट पत्रकारितको मर्यादा थामिने अपेक्षा गर्नु नै मुर्खता हो । त्यस्ता प्रायोजित वा स्तुति मिडियाले जनमानसमा कहिल्यै गहिरो ठाउँ बनाउन नसक्ने भएकाले तिनलाई त्यति गम्भीरतासाथ लिनु र तिनबारे धेरै चिन्तित हुनु पनि आवश्यक नै छैन ।
तर जब पेशागत निष्ठा वा व्यवसायिकताका लागि मानिसले पत्याएको अनुहार आबद्ध रहेको मिडियाले पत्रकारिताको सट्टा अरु नै केही गर्छ, त्यो समाजका लागि घातक हुन्छ ।
यति भनिसकेपछि नेपालका कुन खास मिडिया हाउसहरुबारे यी कुरा लेखिरहेको छु भन्ने धेरै पाठकलाई ज्ञात हुने नै छ । जसले नेपाली मिडियाको कभरेजमा यस्तो समस्या महसुस गर्न बाँकी छ, ती पाठकहरुले मस्तिष्कको आलोचनात्मक द्वार अझै फराकिलो बनाएर मिडियाका सामाग्री पढ्न, हेर्न वा सुन्न आवश्यक छ ।
छिमेकी भारतमा एउटा मिडियाले अर्कोलाई खोतलेर जवाफदेही बनाउने प्रवृत्ति राम्रै विकास भइसकेको छ र आम पाठक समेत त्यस्तो स्वस्थ आलोचना र खोजविनका भोका रहेको भन्ने केही उदाहरणहरुले देखाउँछन्ः सन् २०१० देखि पुनः प्रकाशित क्याराभान पत्रिकाको सर्वकालीन लोकप्रिय सुचीको दोस्रो स्थानमा अहिले कृष्ण कौशिकले गरेको एनडिटीभी च्यानलको चिरफार रिपोर्ट रहेको छ ।
नेपालमा चाहिं त्यस्तो संस्कृति शुन्य प्रायः भएकाले अब नियमित र गहन मिडिया विश्लेषणको परिपाटी विकसित गर्नैपर्ने भएको छ । अपवाद नै भन्नुपर्छ, एक जना जिम्मेवार सम्पादकले गोपाल पराजुली प्रकरणपछि प्रासंगिक रुपले बुझिने गरी अर्को एउटा मिडिया हाउसका साथीहरुलाई ‘आफू उभिएको धरातल एकपटक सुँघ्न’ आग्रह गरेको पढ्न पाइयो । अब यसरी आक्कलझुक्कल मात्र हैन नियमित रुपमा जिम्मेवार मिडियाहरुले आफ्नै क्षेत्रलाई पनि जवाफदेही बनाउनु जरुरी छ ।
मंसीर महिनामा मैले एउटा टिप्पणीमा लेखेको थिएँः
राज्य कब्जालाई अनेक रुपमा अर्याउन सकिएला तर पार्टीको तर्फबाट रेलिङ भाँचेको, ढुंगा हानेको र टायर बालेको पुरस्कार स्वरुप कुनै व्यक्तिलाई (उसको औपचारिक योग्यतालाई टेकेर) न्यायधीशजस्तो संवेदनशील पदमा पुर्याइयो र उसको मदतले कार्यकारीले न्यायपालिकामाथि नियन्त्रण गर्ने अवस्था आयो भने त्यो जुन दलले गरे पनि राज्य कब्जाको एउटा रुप हो । आफूलाई लोकतान्त्रिक भन्ने काँग्रेसले गर्यो भन्दैमा त्यसलाई राज्य कब्जाको रुप नभन्ने कुरा हुँदैन ।
घटनाक्रमले अब त्यसरी अघि बढाइएका न्यायधीशको नाम भन्नै नपर्ने अवस्था आयो, किनकि पछिल्ला केही हप्ताहरुको मिडिया कभरेजले त्यस खालको न्यायधीश नियुक्तिका पात्र र परिणाम दुवैबारे धेरै कुरा बोलिसकेको छ । धेरै सम्भव छ, मैले जुन मिडियालाई माथि इंगित गरें, अर्को प्रकरणसम्म जाँदा उसबारे यसै गरी सबैलाई प्रस्ट हुनेछ ।
जाँदाजाँदै, पत्रकार साथीहरुका लागि वाशिंंटन पोस्ट पत्रिकाकी तत्कालीन प्रकाशक क्याथरिन ग्राहमको एउटा स्मरणीय उक्तिः न्युज इज ह्वाट समवन वान्ट्स सप्रेस्ड । एभ्रिथिङ एल्स इज एड्भर्टाइजिङ, अर्थात्, समाचार त्यो हो जुन कसैले लुकाउन खोजिरहेको छ, बाँकी सबै विज्ञापन हो ।