खड्ग ओलीजी, तपाइँ मेरो ठाउँमा आउनोस्, म राजनीतिमा आउँछु

विख्यात अमेरिकी व्यंग्यकार जर्ज कार्लिनले भनेका छन्ः डन्ट आग्र्यु विथ अन इडियट । दे विल ओन्ली ब्रिङ यु टु देअर लेवल एण्ड बिट यु विथ एक्सपेरिएन्स । अर्थात्, मुर्खसित वादविवाद नगर, उनीहरुले पहिले तिमीलाई आफ्नो हैसियतमा झार्नेछन् अनि अनुभवको मदतले तिमीलाई हराउनेछन् ।

अहिलेसम्म नेपालको राजनीतिमा शिक्षित युवा पुस्ताको उदासीनताको रहस्य यही हो । अब्बल युवाहरुले राजनीतिलाई भ्रष्टाचार र अनैतिकताको फोहर नाली सम्झेर त्यसबाट बच्ने कोशिस गरे । भविष्यप्रति चिन्तित धेरै युवाहरु त्यसमा हाम नै फालेनन् किनकि उनीहरुलाई आफू पनि अहिलेका नेताहरुजस्तै बन्ने डर थियो । नेताहरुले पहिले आफूलाई उनीहरुजस्तै बनाउलान् अनि अनुभवको मदतले हराउलान् भनेर युवाहरु डराए ।

तर समयले के देखायो भने राजनीतिको फोहर नाली राजनीतिमा मात्रै सीमित रहेन । हेर्दाहेर्दै त्यसले समाजको हरेक हिस्सालाई प्रदुषित र दुर्गन्धित पार्यो ।

कमरेड खड्ग प्रसाद ओलीज्यू,

यहाँको उदारतालाई मान्नै पर्छ । डा गोविन्द केसीलाई राजनीतिमा आउन निम्तो दिनुभएछ । त्यो निम्तो उहाँको अभियानमा संलग्न हामीजस्ता निमुखा नागरिकहरुलाई पनि होला भन्ने सम्झेर यो प्रत्युत्तर दिंदैछु ।

अफरका लागि धन्यवाद । म अहिले पनि राजनीतिमै छु । किनकि राजनीति भनेको कुनै पार्टीको झण्डा र झोला बोकेर हिंड्नु मात्रै हैन । हामीजस्ता नागरिक चाहेर पनि राजनीतिबाट अलग हुने अवस्था छैन ।

तपाइँहरुलाई चन्दा दिएकै भरमा अरबौंका ठेक्कापट्टा लिने (अनि काम वर्षौं अधुरो छाडेर यहाँहरुकै तर्फबाट चुनाव लड्ने) मानिसहरुबाट काममा लदाएर पैसा नदिएर ठगिएका चेपाङ युवा होउन् वा यहाँहरुले शिक्षा र रोजगार भताभुंग पारेका कारण खाडीको मरुभुमिमा पुगेर दलालहरुबाट ठगिन विवश युवा होउन्, यो देशको राजनीतिबाट कोही पनि चाहेर पनि अलग हुन सक्दैन ।

यहाँको निम्तो सक्रिय दलीय राजनीतिमा आउनका लागि भएको देखिन्छ । म त्यसमा समेत आउन तयार छु । खाली एउटा शर्त छः तपाइँ म र मजस्तै राजनीतिक चेत भएका तर दलीय राजनीतिमा नभएका अरु नागरिकहरुले यो देशको लोकतन्त्र थाम्न निभाएको भुमिकामा आउनोस् ।

हैन, तपाइँहरु पनि आउनोस्, सबै मिलेर दलीय राजनीति नै गरिराखौं, अरु काम यसै रहन दिऔं भन्नुहुन्छ भने त्योचाहिं स्वीकार्य छैन । किनकि ११ जनै मिडफिल्डर भएको फुटबल टिम हुन सक्दैन, गाडीभरका मानिस सबै चालक हुन सक्दैनन् । पानी जहाजमा सवार सबै क्याप्टेन हुन सक्दैनन् ।

Also read:

त्यसैले राजनीतिमा चासो हुने जति सबै हामीझैं दलीय राजनीतिमा आएर चुनाव लड, हैन भने हाम्रो लुटतन्त्रप्रति औंला ठड्याउने तिमीहरुलाई अधिकार छैन भन्नुहुन्छ भने आउनोस्, सँगै मिलेर यहाँहरुले नै बनाएको संविधानका पाना खोलेर पढौं ।

जो सक्रिय दलीय राजनीतिमा छैनन्, उनीहरुलाई राजनीतिक विषयमा बोल्न, लेख्न र पैरवी गर्न बन्देज लगाएको संविधानको कुनै धारा छ भने मलाई तपाइँको शर्त मन्जुर छ ।

भनिन्छ, सुकरातले मृत्युदण्डको सजायँ पाएर विष पिउनु अगाडिको रातमा उनको राज्यले गोप्य प्रस्ताव राखेको थियोः तिमी सुटुक्क भाग, फेरि देशमा नफर्कने गरी, हामी भाग्ने व्यवस्था मिलााइदिन्छौं । तर सुकरातले भनेः यो व्यवस्थाको रुढी र अन्धकार हटाउन म लडिरहेको छु तर जबसम्म यो व्यवस्था रहिरहन्छ, म यसको घेरा नाघेर गैर–कानुनी काम गर्न सक्दिनँ ।

हामीलाई पनि तपाइँहरुले बोल्न र लेख्न प्रतिबन्ध लगाउनुभयो भने त्यो व्यवस्थै बदल्न हामी लडौंला तर अहिले हामी संविधान नाघेर कुनै काम गरिरहेका छैनौं र गर्ने पनि छैनौं ।

कमरेड ओलीज्यु, राष्ट्रपतिलाई डा केसीले ‘लल्कारेको’ भन्दै यहाँले आक्रोश पोख्नुभएछ । यहाँलाई स्मरण छ भने लोकतन्त्र भनेको समान हैसियत भएका नागरिकहरुले बनेको व्यवस्था हो जहाँ राष्ट्रपति र प्रधानमन्त्रीजस्ता पदमा पुग्नेहरुलाई त्यो पदको जिम्मेवारी र मर्यादाको आधारमा सम्मान गरिन्छ, तर सामन्ती व्यवस्थाहरुमा झैं रैतीका काँध वा टाउकोमा राजारजौटाहरुलाई बसाउने, उनीहरुलाई आँखा उठाएर हेर्न वा प्रश्न गर्न नमिल्ने व्यवस्था यो हैन ।

राष्ट्रपतिले गरेको काम पनि गलत वा संविधानविपरीत लाग्यो भने कुनै पनि नागरिकलाई त्यसमा आपत्ति जनाउने छुट छ । आपत्ति छ भन्दैमा यहाँहरुको पार्टीका युवाहरुले कुनै बेला गर्ने गरे झैं रेलिङ भाँच्न, टायर बाल्न वा अदालततिर ढुंगा हान्न पो भएन, संविधानले दिएको अधिकार प्रयोग गर्दै राष्ट्रपतिसित सुचना माग्न त पाइयो नि मान्यवर । फेरि सरकारी कर्मचारीले त्यसो गर्न मिल्दैन भनेर लेखेको हाम्रो संविधानमा हामीले कतै भेटेका पनि छैनौं अहिलेसम्म ।

Also read:

राष्ट्रपति पदको मानमर्दन

डा केसीविरुद्ध केही मिनट लामो प्रवचनमा यहाँले आठपल्ट कर्मचारी भन्ने शब्द प्रयोग गर्नुभएछ । सन्देश प्रष्टै छः चुत्थो तल्लो तहको कर्मचारी भएर पनि के ठूल्ठूलो पदमा भएका हामीजस्ता मानिसहरुलाई चुनौती दिएको होला? ‘सरकारी जागिर खाने कर्मचारीहरु आफ्नै थान्कामा बसुन्’ भनेर त यहाँले मुख खोलेरै भन्नु भएछ ।

थान्कामा बस्नु भनेको के हो? ‘जी, हजुर’ भनेर आफुमाथिको कर्मचारीलाई रिझाउनु? तपाइँको पार्टीको कर्मचारी संगठनका पदाधिकारीहरुलाई चुनाव जिताइदिनु? सरकारी शिक्षण र स्वास्थ्य संस्था ध्वस्त पारेर निजी क्षेत्रका लागि मलिलो वातावरण सिर्जना गरिदिनु ता कि तपाइँहरुको लगानी फस्टाउन सकोस्? तपाइँ शिक्षण अस्पतालतिर कुनै कामले जानुभयो भने प्रभु आएझैं गरेर ढाड आधा झुकाएर बिन्ती बिसाउनु? तपाइँ र तपाइँजस्तै नेताहरुले विश्वविद्यालयमा नियुक्त गरेका हनुमानहरुलाई पूजा गर्नु?

तपाइँले जुन अर्थमा कर्मचारी भनेर डा केसीलाई होच्याउनुभएको छ, त्यो अर्थमा त डा केसीभन्दा तत्कालीन मुख्य सचिव सोमलाल सुवेदी धेरै खुड्किलो माथिका कर्मचारी थिए । तर जब उनी देशकै निजामती सेवाको उच्चतम पद बीचमै छाडेर तर राजीनामै नदिई दाताहरुको ठूलो जागिरमा हिंडे, मान्छेले ‘अहो, ठूलो कर्मचारीले जे गरे पनि हामी निमुखाले केही बोल्न हुँदैन’ भने र?

कमरेड, मान्छेलाई ठूलो र सानो, हैसियत भएको र नभएको भनेर छुट्याउने यहाँको तरिका सामन्तकालको हो जहाँ राजाको छोरा जस्तोसुकै नालायक र दुव्र्यसनी भए पनि आम मानिससित तुलनै गर्न नसकिने गरी ठूलो हुन्थ्यो । अहिलेका नागरिकले त देशको राष्ट्रपति वा प्रधान न्यायधीश, जोसुकैका बारेमा तिनको काम हेरेर धारणा बनाउँछन् र त्यसलाई प्रकट पनि गर्छन्, ती आसीन भएको पद कति ठूलो हो भनेर हैन ।

तपाइँको आँखामा गणतन्त्रलाई गोरुगाढा चढेर अमेरिका जाने सपना ठान्ने सामन्ती चस्मा छ, त्यसैले तपाइँ त्यो कुरा देख्नुहुन्न ।

यहाँका लागि पद जति ठूलो, मानिस पनि उति नै ठूलो र जवाफदेहिताबाट मुक्त । तर अहिले मानिसहरुले जसको उच्च मूल्यांकन गर्छन्, ती अक्सर आम नागरिक नै हुने गर्छन्, संसारभर नै ।

शक्तिशालीहरुको भ्रष्टाचारको खोल उतारिदिएबापत निर्मम तरिकाले मारिने पत्रकार होउन् वा निर्मम तानाशाही व्यवस्थाविरुद्ध खडा भएकै कारण यातना खप्ने र मारिने युवाहरु होउन्, वातावरण बचाएर मानव जातिकै भविष्य अलि लम्ब्याउन खोज्ने वातावरणवादी अभियन्ता होउन् वा आफ्नो ज्यान जोखिममा पारेर दबाइएका नागरिकहरुलाई आवाज दिने अभियन्ताहरु होउन्, अहिलेका मानिसका रोल मोडल आम नागरिक नै हुने गर्छन् ।

Also read:

चिकित्सा शिक्षा ऐनः संशय र यथार्थ

नेपालमा स्वास्थ्य र मेडिकल शिक्षालाई पैसा छाप्ने मेशिन बनाएर लाखौं नागरिकहरुको स्वास्थ्य दशकौंका लागि जोखिममा पार्ने जुन गिरोह छ, त्यसविरुद्ध सशक्त अभियान चलाएकाले डा केसीको आजको व्यक्तित्व बनेको हो, कुनै तहको सरकारी कर्मचारी भएका कारणले हैन ।

कमरेड, रिसानी माफा होस् तर डा केसीको त्यही अभियन्ताको पहिचानसित तर्सेर उहाँलाई एक साधारण कर्मचारीको हैसियतमा ‘झार्ने’ गुरुयोजना अनुसार यहाँले आठपल्ट कर्मचारी भन्ने शब्द प्रयोग गर्नुभएको हो ।

अब यहाँको सिको गर्दै सबै नेपालीले उहाँलाई खाली कर्मचारी मात्रै ठाने भने अर्कै कुरा, अहिलेसम्म त्यस्तो अवस्था छैन ।

अन्तमा फेरि राजनीतिको कुरा । यहाँले डा केसीलाई ‘नयाँशक्ति, अझ नयाँ शक्ति वा बरमझियाको बाजेको पेडाजस्तो नयाँशक्ति’ खोलेर राजनीति गर्ने चुनौती दिनुभएछ ।

विख्यात अमेरिकी व्यंग्यकार जर्ज कार्लिनले भनेका छन्ः डन्ट आग्र्यु विथ अन इडियट । दे विल ओन्ली ब्रिङ यु टु देअर लेवल एण्ड बिट यु विथ एक्सपेरिएन्स । अर्थात्, मुर्खसित वादविवाद नगर, उनीहरुले पहिले तिमीलाई आफ्नो हैसियतमा झार्नेछन् अनि अनुभवको मदतले तिमीलाई हराउनेछन् ।

अहिलेसम्म नेपालको राजनीतिमा शिक्षित युवा पुस्ताको उदासीनताको रहस्य यही हो । अब्बल युवाहरुले राजनीतिलाई भ्रष्टाचार र अनैतिकताको फोहर नाली सम्झेर त्यसबाट बच्ने कोशिस गरे । भविष्यप्रति चिन्तित धेरै युवाहरु त्यसमा हाम नै फालेनन् किनकि उनीहरुलाई आफू पनि अहिलेका नेताहरुजस्तै बन्ने डर थियो । नेताहरुले पहिले आफूलाई उनीहरुजस्तै बनाउलान् अनि अनुभवको मदतले हराउलान् भनेर युवाहरु डराए ।

तर समयले के देखायो भने राजनीतिको फोहर नाली राजनीतिमा मात्रै सीमित रहेन । हेर्दाहेर्दै त्यसले समाजको हरेक हिस्सालाई प्रदुषित र दुर्गन्धित पार्यो । विश्वविद्यालयहरु पार्टी कार्यालय भए जहाँ हाम्रो राजनीतिको भ्रष्टाचार र अपराध मिश्रित दुर्गन्ध सहिनसक्नु भयो । सरकारी अस्पतालहरु थला परे, स्कुलहरुको मेरुदण्ड भाँचियो ।

अनि आफैंले बलपूर्वक निस्तेज पारेका सरकारी संस्थाहरुले दिन नसकेको सेवा दिन यहाँका जस्ता पार्टीहरु जुर्मुराए । शिक्षा र स्वास्थ्य आम नागरिकका नैसर्गिक अधिकारबाट धनाढ्यहरुले मात्रै किन्न सक्ने ‘कमोडिटी’मा बदलिए ।

फलस्वरुप संविधानमा शिक्षा र स्वास्थ्य मौलिक अधिकार भनिए पनि करोडपतिहरुका लागि मात्रै गुणस्तरीय शिक्षा र स्वास्थ्यमा व्यवहारिक पहुँच हुने भयो । अक्षम पार्टी कार्यकर्ताहरुलाई शिक्षक बनाउने कानुनै बनेपछि, पढाउँदै नपढाइ डिग्री बेच्ने मेडिकल कलेजहरुलाई राजनीतिक र न्यायिक संरक्षण भएपछि, जे हुनु थियो, त्यही भयो । दलीय राजनीतिको क्यान्सरले न्यायालयलगायत संवैधानिक निकायहरु समेत थला परेपछि विधि र थितिको शासन भन्नु दन्त्यकथामा बदलियो ।

Also read

‘वाम ध्रुवीकरण’ ले उब्जाएका केही प्रश्न

डिग्री लिएका युवाहरु खाडीको उम्लंदो तापक्रममा पसिना बगाउन बाध्य भए, शहरमा बेरोजगार डाक्टर बढेसँगै गाउँका लागि स्वास्थ्य सेवा दुर्लभ भयो भने शहरका हुनेखानेहरुका लागि उपचारका लागि विदेश जानु सामान्य बन्यो ।

पत्याउनुहुन्न भने तपाइँ आफ्नै विगत हेर्नोस्, काठमाडौंमा सात वटा मेडिकल कलेज र गनेर नसकिने अस्पताल हुँदाहुँदै तपाइँ कति चोटि विदेश पुगिसक्नुभयो । अनि तपाइँजस्ता अरु कति नेता कति सामान्य उपचारका लागि कुन कुन देश पुगे । अनि आफू अरबपति हुनुको बाबजुद पनि करदाताले गाँस काटेर जम्मा गरेको राज्यकोषबाट करोडौं असुलियो ।

उता सरकारी संस्थामा सुतीसुती जागिर पकाउने पार्टी पक्षधर कार्यकर्ताहरुले लेबी पनि बुझाउने, पदाधिकारीमा पार्टीका तर्फबाट पठाइएकाहरुले ठेक्कापट्टाबाट करोडौं पनि बुझाउने, यता सेवाबाट वञ्चित नागरिकहरुको विवशताको फाइदा उठाउँदै पार्टीकै मान्छेले फेरि व्यवसाय गरेर नाफाखोरी गर्न पनि सक्ने । निजी स्कुलदेखि अस्पताल र मेडिकल कलेजहरु पार्टीहरुका लागि दुहुना गाइ बन्न पुगे ।

त्यस्तो नाफाखोरीमा बन्देज आउन थाल्यो भने फेरि त्यसलाई तोड्न कानुन बनाउने ठाउँमा त यहाँहरु आफैं हुँदै हुनुहुन्छ । कति नग्नतापूर्वक त्यस्तो कानुन बनाउन यहाँहरु लाग्नुभयो, त्यो अब कसैबाट लुकेको छैन ।

यहाँहरुका लागि रामराज्य (कि माक्र्सराज्य?) भन्न मिल्ने यो व्यवस्था, जसले मुठ्ठीभर नेता र तिनका आसेपासेलाई अरबपति बनाइरहेको छ, त्यसप्रति यहाँहरुको चरम् सन्तुष्टि प्रष्टै देखिन्छ त्यसैले यसप्रति प्रश्न उठाउने कसैप्रति पनि यहाँ जाइ लागिहाल्नु हुन्छ ।

तर त्यही अवस्थाबाट आजित भएर युवाहरुले अब आफैंलाई सोध्न थालिसकेः राजनीतिलाई भ्रष्टाचार र अपराधको नाली ठानेर तर्कंदा तर्कंदै कतै त्यसले सिंगो समाजलाई बगाएर लैजाने त हैन? फोहर ठानेर हाम फाल्नबाट तर्केको नालीमा नचाहँदा नचाहँदै बग्नुपर्यो भने त्यो कति पीडादायी अवस्था होला?

त्यही सम्भावना टार्न अहिले युवाहरुले दलीय राजनीतिमै आएर यहाँहरुलाई चुनौती दिने कोशिसमा छन् । मान्छेका आँखा खुल्न ढिलो चाँडो होला तर यथास्थिति सधैं चल्दैन ।

कुनै बेला दशकौंसम्म पालैपालो त्यहाँ शासन गरेका फ्रान्सका बाम र दक्षिणपन्थी पार्टीहरुले पनि त्यहाँको वैकल्पिक राजनीतिलाई ‘नयाँ शक्ति, अझ नयाँ शक्ति र बरमझियाको बाजेको पेडाजस्तो नयाँ शक्ति’ भनेर खिज्याउँथे तर समयकालमा ती दुवैलाई बढारेर त्यहाँ वैकल्पिक शक्ति सत्तामा पुग्यो । बाँकी अब इतिहास भइसक्यो ।

त्यसैले कुनै व्यक्ति विशेष सक्रिय दलीय राजनीतिमा नहुनु भनेको त्यस्तै सुधारको एजेण्डा बोकेका कोही पनि राजनीतिमा छैन्न भन्ने हैन । बरु परिवर्तन चाहनेहरुबीच नै त्यस्तो श्रम विभाजन आवश्यक छ जहाँ दलीय राजनीति भित्र र बाहिर दुवैतिर सक्रिय सहभागीहरु होउन् ।

कमरेड ओलीज्यू, सक्रिय दलीय राजनीतिमा निम्तोका लागि धन्यवाद तर अलिकति पछि फर्केर एउटा उदाहरण हेरौं कसरी दलीय राजनीतिमा नभई पनि देशका लागि योगदान गर्न सकिन्छ ।

धुन्धुकारी लोकमानलाई ठेगान लगाउन हाम्रो पार्टीले महाभियोगको प्रस्ताव ल्याएर उनलाई निलम्बन गर्यो भनेर यहाँले धक्कु लगाउनु होला तर यथार्थ त्यति सपाट थिएन । यहाँहरुले महाभियोगको प्रस्ताव त्यतिखेर ल्याउनुभयो जब यहाँहरुको अबको सगोत्री दल माओवादीका नेताहरुमाथि शिविर घोटालाका लागि छानविन गर्ने भनेर लोकमानले घोषणा गरे ।

त्यसैले सडकमा लोकमानको भ्रष्टाचार र समानान्तर सत्ता चलाउने प्रवृत्तिविरुद्ध डा केसीको नेतृत्वमा हामी उद्वेलित हुँदा यहाँहरुको समीकरण अर्कै थियो ।

यहाँहरुको लोकमानविरुद्धको कदम शिविर घोटाला छानविन हुने त्रासको परिणाम थियो । यहाँलाई त के याद होला र, संसार जितेर त्यसको मालिक बनाउने भनेर कल्कलाउँदो उमेरमा बन्दुक बोकाइएका युवायुवतीहरुलाई नेताहरुको सपनाभंग भएपछि तिनको जीवनको मूल्य भनेर दिइएको केही लाख रुपैयाँ माओवादी पार्टीले खोसेपछि ती कसरी धर्धरी रोएका थिए? कसरी अस्तित्वमै नभएका लडाकुको नाममा वर्षौंसम्म अरबौं रुपैयाँ करदाताहरुबाट लुटिएको थियो? कसरी अहिले पनि अरबौं रुपैयाँको कालोधनका रुपमा त्यो पैसाले देशको राजनीति र व्यवस्थालाई नै डाँवाडोल बनाइरहेको छ?

हो, त्यस्तो गम्भीर शिविर घोटालाको मुद्दा नउठुन्जेल सार्वभौम भनिएको संसदमा लोकमानविरुद्ध परेको सार्वजनिक महत्वको प्रस्तावमा समेत छलफल गर्न खुट्टा कँपाउने दलहरु यहाँहरुकै हुन् । लोकमानले इमान्दारीपूर्वक छानविन गर्नभन्दा पनि मोलमोलाइ गरेर आफूलाई बचाउन शिविर घोटालाको मुद्दा उछालेको पक्कै हो तर माओवादीले आफूले गरेको अपराधबाट बच्न अदालतमा समेत ‘सेटिङ’ गरेर लोकमानलाई बचाउन खोजेको त माओवादी नेताले नै स्वीकारेका हुन् ।

कमरेड ओली, तेह्र हजार निर्दोषको ज्यान लिएर त्यसको बदलास्वरुप आफ्नै लागि अर्बौं रुपैयाँको कालोबजारी सिर्जना गर्दै पूर्व लडाकुहरुलाई रुवाउँदै घर पठाएको दल अब यहाँको दलसित मिसिन शुभ मुहुर्त पर्खेर बसेको छ ।

त्यसबाहेक लोकमानले १३ पाने भराएका नेताहरुमध्ये यहाँको दलकै कैयौं नेताहरुले रहस्यमय तरिकाले लोकमानप्रतिको आफ्नो रवैया फेरेको हामीले आँखै अगाडि देखेको हो ।

लोकमान निलम्बित भएसँगै शिविर घोटालाको छानविन रोकियो । त्यसपछि तपाइँहरु पनि सेलाउनुभयो । न संसदले बेलैमाथि महाभियोग प्रस्ताव पास गर्ने इच्छा देखायो, न सर्वोच्च अदालतले निलम्बन गरिसकेपछि लाज छल्नलाई संसदले गरेको छानविनको मन तातो प्रतिवेदन कार्यान्वयन गर्नेसम्म यहाँहरुको आँट देखियो ।

अर्थात् शिविर घोटाला र केही नेताहरुको भ्रष्टाचार मुद्दामा छानविन रोकिएपछि यहाँहरुका लागि लोकमान प्रकरण सधैंका लागि खतम भयो । जबकि हाम्रो लडाइँ लोकमान प्रवृत्ति विरुद्ध भएकाले अद्यापि जारी छ ।

अब यसमा सानो व्यक्तिगत विवरण जोडौं । लोकमानमाथि महाभियोगको मागलाई जनस्तरमा स्थापित गरेको डा केसीको आठौं अनशनले महाभियोग नलगाई टुंगिएपछि लोकमान घाइते बाघजस्तै भएका थिए । स्वभावतः उनी हामी अभियन्ताहरुमाथि खनिए । उनले म कार्यरत अस्पतालमा पुलिस पठाएर खोजीनीति गराएछन्ः कति कमाउँछ, कति कर तिर्छ, आदि भनेर ।

एक अस्पताल सञ्चालकले जवाफ दिएछन्ः यी डाक्टर, जसको एउटा साइकलसमेत छैन, खूला किताबजस्ता हुन्, के खोजीनीति गर्नुहुन्छ?

अभियानमा लागेपछि साइकलसमेत किन्नुहुन्न वा कमाइ गर्नु हुँदैन भन्ने हैन तर कथाले त्यस्तै मागेकाले त्यो बेला मेरो अवस्था ती अस्पताल सञ्चालकले भनेको जस्तै थियो ।

ममात्रै नभई दलीय राजनीतिमा नलागेर डा केसीको अभियानमा लागेका मुख्य अभियन्ताहरुको अवस्था धेरथोर त्यस्तै हो । त्यस्तो सापेक्ष गरिबीले केही असुविधा सिर्जना त गर्छ तर त्यसले दिने नैतिक बल नै यहाँहरुको भ्रष्टाचार र लुटतन्त्रविरुद्धको लडाइँमा हाम्रो मुख्य अस्त्र हो ।

कमरेड, याद रहोस्, सडकबाट डराउन र गुमाउनका लागि केही नभएका डा केसी र उहाँजस्ता नागरिकहरुले लोकमानको लोकप्रिय वैधता नसिध्याइदिएको भए धेरै सम्भावना थियो, तपाइँहरुले ढिलो गरेर उनीविरुद्ध चालेको कदम भ्रष्टहरुले भ्रष्टाचारको दण्डबाट डराएर इमान्दार अख्तियारप्रमुखलाई पदबाट हटाउन खोजेको चालजस्तो देखिने थियो । जनमत आफूतिर पारेर भ्रष्टाचारको आरोपमा मुख्य दलका नेताहरुलाई डामेर संविधानलाई नै बन्धक बनाएर एकछत्र राज गर्ने लोकमानको रोडम्याप त उनले लुकाएकै थिएनन् ।

त्यसैले लोकमानलाई फालेको पार्टीहरुले वा दलीय राजनीतिले मात्र हो, त्यसमा पार्टीबाहिरका नागरिकहरुको कुनै भुमिका थिएन भन्नुहुन्छ भने यहाँको बुझाइलाई कठै भन्न मात्रै सकिन्छ ।

डा केसीले उठाएको समस्त नेपालीको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारको मुद्दालाई यहाँ वा यहाँका दलका कसैको आर्थिक स्वार्थमा आँच आएकै कारण यहाँले डा केसीलाई केबल एक कर्मचारीको ‘थान्को’मा राख्न कोशिस गरेको देखिन्छ । मलगायत धेरै अभियन्ताहरु त कर्मचारीसमेत छैनौं त्यसैले यहाँको सामन्ती आँखामा हामी कुनै हैसियत नभएका सडकछापहरु हौंला ।

तर हामीसित जुन नैतिकता र पारदर्शिता छ, हामीलाई यहाँले देख्ने खालको कुनै हैसियतभन्दा त्यो नै प्यारो छ । भोलि देशमा अर्को लोकमान जन्म्यो भने पनि यहाँहरुकहाँ फेरि खैलाबैला होला तर हामीलाई कुनै डर छैन ।

जहाँसम्म दलीय राजनीतिमा आउन यहाँले दिएको चुनौतीको कुरा छ, तपाइँ मेरो ठाउँमा त्यही हैसियत र पारदर्शी नैतिकतासहित खडा भएर लोकतन्त्रप्रति सचेत नागरिकले निभाउनुपर्ने भुमिका निभाउने गरी आउनोस्, म तपाइँले इंगित गरेजस्तो सक्रिय दलीय राजनीतिमा आउन तयार छु । यो यहाँलाई मेरो तर्फबाट चुनौती नै भयो ।

यहाँको शुभचिन्तक,
जीवन क्षेत्री

Loading Facebook Comments ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *