कान्तिपुर ‘कायाकल्प’को अर्थ

नेपालको मिडिया परिदृश्यप्रति म पछिल्ला केही वर्षहरुदेखि निकै चिन्तित छु । त्यसको मुख्य कारणचाहिं भारतमा पत्रकारिताले यो समयमा निरन्तर मारिरहेको नरकतिरको छलांग हो । र अनुभव भन्छ, जुन महामारी भारतमा फैलिन्छ, त्यो नेपाल नपस्ने सम्भावना अति न्युन हुन्छ ।

व्यवहारिक जीवनमा मैले मान्ने धेरैमध्ये एउटा नियम छः जुन कुरा ‘टू गुड टु बी ट्रु’ (अर्थात सत्य मान्नै गाह्रो लाग्ने गरी असल) लाग्छ, त्यसलाई अन्यथा प्रमाणित नभएसम्म भ्रम वा अवास्तविक नै मान्ने ।

नेपालमा कान्तिपुर मिडिया हाउस पनि त्यस्तै थियोः उसको साविकको पत्रकारिता सामान्य भए पनि जब समाज र राष्ट्रका निर्णायक घडीहरुमा ऊ जोखिम मोलेर दरोसँग शक्ति केन्द्रहरुविरुद्ध आम मानिसको पक्ष लिएर उभिन्थ्यो, तब लाग्थ्यो, कान्तिपुरले निरन्तर आफूलाई अन्यथा प्रमाणित गरिरहनेछ ।

नेपालमा व्यवासायिक पत्रकारिताको जग मात्रै बसालेन, कान्तिपुरले व्यवसायिक पत्रकारिता र सफल व्यवसाय सँगसँगै जान सक्छन् भन्ने उदाहरण पनि देखायो । व्यवसायिक रुपमा छलांग मारेर निरन्तर श्रीवृद्धि भइरहे पनि उसले जोखिमपूर्ण र असजिलो बाटो तय गरेर पत्रकारिताको धर्म निभाइरह्यो ।

अर्को अंग्रेजी भनाइ छः ‘एभ्रि गुड थिंग ह्याज टु कम टु अन एन्ड ।’ तमाम शंका उपशंकाहरुलाई दबाएर म अहिले पनि कामना गर्छु, कान्तिपुरको असल र जिम्मेवार पत्रकारिताको युगको अन्त यो हैन ।

तर सुधिर शर्मा र अखिलेश उपाध्यायको क्रमशः कान्तिपुर र काठमाण्डु पोस्ट दैनिकबाट खास पृष्ठभुमिमा भएको बहिर्गमनले केही शंकाहरुलाई भने राम्रैसँग जन्म दिएको छ ।

नेपालको मिडिया परिदृश्यप्रति म पछिल्ला केही वर्षहरुदेखि निकै चिन्तित छु । त्यसको मुख्य कारणचाहिं भारतमा पत्रकारिताले यो समयमा निरन्तर मारिरहेको नरकतिरको छलांग हो । र अनुभव भन्छ, जुन महामारी भारतमा फैलिन्छ, त्यो नेपाल नपस्ने सम्भावना अति न्युन हुन्छ ।

भारतीय मिडियाले मारेको त्यो छलांगबारे यहाँ बिस्तारमा जान सम्भव छैन तर त्यसको नेतृत्व र मार्गदर्शन भारतमा बीसीसीएल वा टाइम्स ग्रुप नामक कम्पनीले गरिरहेको छ ।

टाइम्स ग्रुपको पत्रकारिताको दर्शन नै यस्तो छः हामी समाचारको व्यवसायमा छैनौं, विज्ञापनको व्यवसायमा छौं । विज्ञापन बेच्नका लागि बीचबीचमा समाचार र विचारहरु छर्कनु हाम्रो विवशता हो । त्यसैले हाम्रो मिडियाको निर्णायक तहमा बजार विभाग हुन्छ भने सम्पादकीय टोलीले त्यो विज्ञापन व्यवसाय प्रवद्र्धन गर्ने गरी समाचार र विचारहरु तयार पारेर सहयोग गरिदिन्छ ।

अर्थात् खल्तीमा राजीनामा बोकेर हिड्ने स्वाभिमानी र जब्बर सम्पादकहरुको सट्टा समाचार सम्पादन गर्नु र सम्पादकीय लेख्नु अघि बजार विभागका मालिकको प्रकट वा अप्रकट स्वीकृति खोज्ने आत्मसम्मानविहीन ‘लुरे’ र वफादार सम्पादकहरुले जागिर पाउँछन् । दुरदराजमा पुगेर समाचार खोजेर आउने संवाददाताहरु पजनीमा पर्छन् भने स्टुडियोमा बसेर वाहियात विषयमा नौटंकी सञ्चालन गर्ने प्रस्तोताहरु थपिन्छन् ।

त्यसो भएपछि मिडिया आवाजविहीनको आवाज हुने अवस्था १८० डिग्रीले उल्टिएर पैसा, पहुँच र शक्ति हुनेहरुको थप पैसा, पहुँच र शक्ति जम्मा गर्ने साधन बन्छ भन्ने कुरा भारतको अनुभवले देखाउँछ । बदलामा मिडियाका मालिहरु आफैंले अकुत धन आर्जन गर्छन् । मिडिया स्थायी प्रतिपक्ष हुन्छ भन्ने अवधारणा अब त्यहाँ बितिसकेको युगको खुइलिएको अवशेष बन्न पुगिसकेको छ किनकि सत्ताको गुणगानभन्दा ठूलो कमाउने उपाय अर्को रहेको छैन ।

टाइम्स अफ इण्डिया लगायत भारतका प्रमुख प्रभावशाली टेलिभिजन, अनलाइन पोर्टल र म्यागेजिनहरुको स्वामित्व भएको बीसीसीएलले गत दशकभर आफूलाई मात्रै त्यसरी विज्ञापन व्यवसायीमा बदलेको छैन, केही झिना अपवादहरुबाहेक भारतका सबै स्थापित र मूलधारका मिडियालाई आफ्नो बाटो पछ्याउन बाध्य पारेको छ ।

अब चाहिं त्यसमा पनि थप छलांग मारेर सिंगो कभरेज नै अरबौंको कालोधनका लागि कुनै राजनीतिक दल विशेषको स्वार्थ अनुरुप गरिदिन समेत बीसीसीएल तयार भइसकेको भन्ने कुरा यसका मालिकले हालै कोब्रापोस्टका पत्रकारको लुकाइएको क्यामेरासामू भनेका छन् । र त्यसो गर्ने मिडिया कम्पनी पनि ऊ एक्लै छैन ।

भारतको पत्रकारिता यसरी एकपछि अर्को खुड्किलो गर्दै रसातलतिर गिर्दै जाँदा नेपालको एउटा स्थापित दैनिकले त्यो मार्ग पछ्याइसकेको भनेर मैले यस अगाडि पटक पटक लेखिसकेको छु । तर आज त्यही प्रसंग तानेर कान्तिपुरबारे लेख्नुपर्ला भन्ने मलाई लागेको थिएन । खैर, संसारमा एउटै अपरिवर्तनशील कुरा भनेकै परिवर्तन हो ।

के अब कान्तिपुरले आजसम्म डटेर व्यवसायिक पत्रकारिता गरिरहेका पत्रकार साथीहरुको आत्मा मारेर टाइम्स अफ इण्डियाका पदचाप पछ्याउला? मलाई अझै त्यस्तो लाग्दैन तर अहिलेसम्म यो प्रकरणमा जति सुचना बाहिर आएको छ, त्यो प्रीतिकर छ्रैन ।

र यति निश्कर्षमा चाहिं म पुगिसकेको छुः जुन अवस्थामा कान्तिपुर र काठमाण्डु पोस्टबाट सम्पादकहरुको बहिर्गमन भएको छ, त्यसपछि कान्तिपुर मिडिया हाउस उही रहेन ।

आशा छ, कायाकल्प भएको नयाँ कान्तिपुर मिडिया हाउसले मजस्ता शुभेच्छुकहरुको शंका मेटाउने गरी अबका दिनमा झनै सशक्त र व्यवसायिक पत्रकारिता गर्नेछ । त्यसको उल्टो नयाँ व्यवस्थाअन्तर्गत नेपालमा मिनि टाइम्स अफ इण्डियाको जन्म भयो भने हिजोको कान्तिपुरको स्वर्ण युगलाई नोस्टाल्जियापूर्वक सम्झनेबाहेक हामीसँग विकल्प रहने छैन ।

भोलि जेसुकै होस्, आजैका दिनमा पनि कान्तिपुरजस्तो मिडिया हाउसबारे यस्ता ननिका सम्भावना र शंकाहरु उब्जिनु नेपालको अल्मलिएको लोकतन्त्रका लागि शुभ संकेत हैन । तर आखिर संसार न हो, आफ्नै गतिमा चलिरहन्छ, हामीले आफ्नो ठाउँबाट सके त्यसलाई असल बनाउन अलिकति भुमिका खेल्ने नत्र तमाशे भएर हेर्नेबाहेक के नै गर्न सक्छौं र?

नयाँ कान्तिपुरले यति विचार गरोस्ः हाम्रो चनाखो नजर ऊतिर छ । अबको अग्निपरीक्षामा ऊ खरो उत्रोस्, टाइम्स अफ इण्डियाबाट आउन लागेका सम्पादकहरुभन्दा माथिका व्यक्तिसँगै टाइम्स ग्रुपको कालो धब्बासहितको लिगेसी नेपालमा नभित्रियोस्, नेपालका मिडिया हाउसहरु पनि रसातलतिरको यात्रामा दौड लगाउने अवस्था नआओस्, मेरो शुभकामना ।

Loading Facebook Comments ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *